info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको कुराकानी

Interview with HE Mr Pradeep Kumar Gyawali Oct 23, 2019

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको कुराकानीः

चिनियाँ राष्ट्रपतिको बहुप्रतीक्षित भ्रमण कसरी सम्भव भयो ? 

लामो समय आन्तरिक द्वन्द्व, संक्रमण र राजनीतिक अस्थिरताको व्यूहमा परेर अन्तर्राष्ट्रिय सम्बन्ध खुम्चिँदै औपचारिकजस्तो मात्र भएको थियो । नेपाललाई मित्रहरूबाट सद्भाव प्राप्त भइरहे पनि सहयोगका लागि अपेक्षित वातावरण बनाउन सकेका थिएनौँ । देश भित्र आएको राजनीतिक परिवर्तन, सम्भावनाको उदय र सचेतन प्रयत्नको जोडले चिनियाँ राष्ट्रपतिको भ्रमण सम्भव भयो । 

भ्रमणको सफलता के–केलाई मान्ने ?

राष्ट्रपति सीको आगमन नै ठूलो सन्देश हो । त्यसले नेपालमा सुरक्षित, आकर्षक र अनुकूल वातावरणको सन्देश दिन्छ । नेपालसँग उच्च तहका भ्रमण आयोजना गर्ने, व्यवस्थापन गर्ने क्षमता छ भन्ने पुनर्पुष्टि गरेको छ । असमान भूगोल, जनसंख्या र विकासका दुई मुलुक कसरी असल सम्बन्धमा बाँधिन सक्छन् भन्ने उदाहरण भ्रमणले दिएको छ । 

इन्डो–प्यासिफिक रणनीतिले नेपाललाई सामरिक भूमरीमा पार्ने संकेत गरिरहेका बेला चीनसँग फेरि रणनीतिक साझेदारीका कुराले समस्या ल्याउँदैन ?

विकास र समृद्धिका लागि रणनीतिक साझेदार भनेको लामो, टिकाउ र फराकिलो सम्बन्ध हो भनेर बुझ्नुपर्छ । यसलाई अर्को रूपमा बुझ्नु–बुझाउनु अनि अनावश्यक विवादमा ल्याउनु जरुरी छैन ।

सुपुर्दगी सन्धिकै कारण नेपालले लोकतान्त्रिक मूल्य–मान्यतामा सम्झौता गर्नुपर्ने त होइन ?

आतंकवाद, अन्तरदेशीय अपराध, लागूऔषध ओसारपसार, हातहतियारको अवैध ओसारपसार, मानव बेचबिखनविरुद्ध नेपालको ठोस प्रतिबद्धता छ । त्यस आधारमा आवश्यकताअनुसार सुपुर्दगी सन्धि हुन सक्छ । हाम्रो लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाउनु भनेको वस्तुगत आधारभन्दा राजनीतिक आग्रह मात्रै हो ।

अहिलेको समझदारी गत वर्ष प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणको छायाकपीजस्तै देखिन्छ नि ? 

यस्ता भ्रमणमा समझदारीका विभिन्न चरण हुन्छन् । पहिलो चरणमा समझदारीमा पुगिसकेको हुँदैन तर नोटिसमा लिइसकेको हुनाले संयुक्त वक्तव्यमा पर्छन् । प्रधानमन्त्रीको बेइजिङ भ्रमणमा कतिपय विषय चाहनाको रूपमा आएका थिए तर पर्याप्त छलफल नभएर निष्कर्षमा पुगेका थिएनन् । यसबीचको गृहकार्यपछि हिजोका चाहनालाई मूर्त रूप दिए । कतिपय विषय विभिन्न उच्चस्तरीय भ्रमणमा दोहोरिनु स्वाभाविकै हो । 

राष्ट्रपति सीले ५६ अर्ब सहयोग गर्ने घोषणा गरे पनि लिखित रूपमा आएन नि ? 

संयुक्त वक्तव्यमा राख्न पनि सकिन्थ्यो तर राखिएन । चीनको त्यो गैरबजेटरी सहयोग हो । नेपालको प्राथमिकताका आधारमा छनोट परियोजनामा खर्चिन सकिने बजेट हो ।

गेमचेन्जर परियोजनामा सरकारले गृहकार्य गरेन ? 

चीनसँगको सम्बन्धमा गेमचेन्जर परियोजना भनेको कनेक्टिभिटी नै हो । अत्याधुनिक कनेक्टिभिटीबिना उत्पादन गर्न सकिँदैन । सेवा, वस्तु र जनताको प्रवाह ल्याउन सकिन्न । अर्थतन्त्रमा गति ल्याउन सकिँदैन । त्यसो भएकाले कनेक्टिभिटीलाई प्राथमिकतामा राखेका छौँ । 

मदन भण्डारी प्राविधिक विश्वविद्यालय चित्लाङमा अनुपयुक्त भएको चिनियाँ पक्षको भनाइ छ । ठाउँबारे पुनर्विचार हुन्छ ? 

हामीले स्थलगत अध्ययनका लागि आग्रह गरेका थियौँ । उहाँहरूले दिएको प्रतिवेदन मैले पढ्न पाएको छैन । तर विश्वविद्यालय जहाँ उपयुक्त हुन्छ, त्यहीँ खोल्ने हो । सरकारको चाहना काठमाडौँ बाहिर खोलौँ भन्ने हो । 

योजना पूरा गरेरै छाड्नुपर्ने राष्ट्रपति सीको सुझावलाई सरकारलाई कसरी लिएको छ ?

काममा ढिलासुस्ती नेपाली प्रशासन संयन्त्र र निजी क्षेत्रसमेतको चारित्रिक विशेषता भएको छ । उहाँले नभन्नुभएको भए पनि हामीले महसुस गर्नुपर्ने विषय हो । कुनै पनि परियोजना समयमै सकाउने गरी दृढ संकल्प देखिँदैन । उसो त, भेरी–बबई डाइभर्सन, भैरहवा एयरपोर्ट, पोखरा एयरपोर्ट, पेट्रोलियम पाइपलाइन, चक्रपथ स्तरोन्नति लगायतका परियोजनामा समयभन्दा पहिला काम भए । प्रतिबद्ध भए परिणाम आउने रहेछ भन्ने त यसैले देखाउँछ । 

चीन र भारतबीचको कुराकानीले क्षेत्रीय प्रभाव पार्न सक्छ ?

चीन र भारतबीच बढ्दै गएको सम्बन्धप्रति नेपाल उत्साहित छ । चीन र भारतबीच जति सुमधुर सम्बन्ध हुन्छ, क्षेत्रीय स्तरमा त्यति नै सकारात्मक प्रभाव पर्छ र नेपाल लाभान्वित हुन्छ । चीन–भारतको छलफलले क्षेत्रीय सहकार्यको वातावरण बन्दै गएको हो भने नेपालले त्यसको स्वागत गर्छ । 

बसन्त बस्नेतयोगेश ढकाल ले  गर्नु भएको कुराकानी
साभार नेपाल साप्ताहिक प्रकाशित: कार्तिक ५, २०७६

Shivam Cement