सूर्य लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्नका निम्ति आगामी जेठ २८ गते देखि असार ४ गते सम्मका लागि बुक क्लोज गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको गत जेठ १७ गते सम्पन्न भएको २४१ औं बैठकले सो निर्णय गरेको हो । यसअनुसार जेठ २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागि हुन पाउनेछन्।
सो बैठकले कम्पनीको ११ औँ बार्षिक साधारण सभा आगामी असार ११ गते कम्पनीको प्रधान कार्यालय बिराटनगरमा गर्ने पनि निर्णय गरेको छ ।
गत बैशाख २७ गते बसेको बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा पनि १२ प्रतिशत नै बोनस वितरण गरेको थियो।
उक्त लाभांश कम्पनीको असार ११ गते बस्ने साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।